काठमाडौँ, ९ जेठ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहनुभएको छ । उहाँहरू भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्तारुढ दल तथा सरकारको प्रवक्ता जस्तो भारतीय सञ्चार माध्यम देखिएको टिप्पणी गर्नुभयो । बनिबनाउ एकोहोरो रूपमा तथ्यहीन समाचार सम्प्रेषण गरेर भ्रम छर्ने काम गरिरहेको बताउँदै उहाँले त्यहाँका वरिष्ठ पत्रकार भनाउँदाले पनि दुई देशबीचको सम्बन्धबारे तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको बताउनुभयो ।
गोरखापत्रसँग कुरा गर्दै पत्रकार अधिकारीले कालापानीमा विवाद छ भने सन् १९९७ मा भारतकै तत्कालीन सरकारले स्वीकार गरेको कुरा पनि भारतीय मिडियाले बिर्सिएको बताउनुभयो । त्यति मात्रै होइन, सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला दुई देशले जारी गरेका संयुक्त प्रेस विज्ञप्तिमा पनि दुई देशका परराष्ट्र सचिवको तहमा वार्ता गरी कालापानी, सुस्ता लगायतको समस्या समाधान गर्न सकिन्छ भन्ने उल्लेख थियो भन्दै उहाँले ती कुरा मिडियाले बिर्सन नहुने बताउनुभयो । यस्तो व्यवहारले भारतको समग्र प्रेसको विश्वसनीयतामाथि असर पर्ने उहाँको भनाइ छ ।
अर्का वरिष्ठ पत्रकार सीताराम अग्रहरीले नेपाल र भारतबीच रहेको सदियौँको सम्बन्धमा आँच पु¥याउने काम भारतीय सञ्चार माध्यमले गरेको टिप्पणी गर्नुभयो । उहाँले भारतको मूलधारको सञ्चार माध्यममा जुन खालका समाचार आइरहेका छन् त्यो पत्रकारिता होइन, प्रचाकारिता रहेको टिप्पणी गर्नुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्