Banner News

नेकपा सचिवालय बैठकको निश्कर्ष : एमसीसी छिनोफानो संसदबाटै



काठमाडौँ, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी अनुमोदन गर्नेरनगर्ने निर्णय संसदले गर्ने निश्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निकर्ष निकालेको हो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने निर्णय गरेको जानकारी गराउनुभयो । बैठकले संसदमा एमसीसीको विषयमा अर्थमन्त्रीले सोहीअनुसार जवाफ दिने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गरेका थिए भने संसदमा निणयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने बताउनुभएको थियो ।

आजको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावल, तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी रहेको थियो । संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका गर्न नहुने कामहरु भने रोक्ने निर्णय पनि गरेको छ ।

कार्यदलको सुझाव र पार्टीभित्र विवाद नै जारी रहेको अवस्थामा सरकारले बजेटमै एमसीसी घुसाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेको पाइएपछि नेकपाभित्र हलचल मच्चिएको छ ।

अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ ।