समाचार

लण्डनमा एक नेपालीको उद्धार



काठमाडौँ, १७ जेठ । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ ।

दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

आफू कुन पार्कमा छु भन्नेसम्म थाहा नभएपछि दूतावासले ट्याक्सीमा राखी पार्कबाट ल्याएको थियो । दूतावासकै आग्रहमा अहिले एक नेपाली व्यवसायीले उनको खानबस्ने प्रबन्ध गरेको जनाइएको छ ।

उद्धार गरिएका व्यक्तिको प्रवेषाज्ञा सकिएको तर कोरोनाका कारण अहिले यहाँको अध्यागमनले जुलाई ३१ सम्म स्वतः थपिदिने प्रावधान मिलाएको छ । अब कोरोनाको प्रकोप कम भई यहाँका विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि उनलाई नेपाल पठाउने दूतावासले जनाएको छ । रासस