काठमाडौँ, १९ जेठ । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक छोटो विधि (फास्ट ट्र्याक)बाट पारित गर्ने तयारी गरेको छ ।
कोरोना संक्रमणको सम्भावित जोखिम र विधेयकप्रति कुनै पनि दलको विरोध नरहेका कारण छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने प्रस्ताव सरकारले गरेको हो । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार निसान छापभित्रको नक्सा सच्याउन सरकारले गत शुक्रबार संसद्मा विधेयक दर्ता गरेको थियो । विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शनिबार संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ। उसले पार्टीले निर्णय गर्नुपर्ने भन्दै ‘केही दिन पर्खिन समय मागेको’ थियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले आइतबारको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी हुन् । त्यसलाई आइतबारै सर्वसाधारणको जानकारीका लागि राजपत्र र गोरखापत्रमा प्रकाशन गर्न पठाइएको छ। सार्वजनिक सूचना जारी भएको सात दिनपछि र सांसदलाई संशोधन राख्ने ७२ घण्टाको समयावधि घटाएर छोटो विधिबाट पारित गर्ने तयारी भइरहेको मन्त्री डा. तुम्बाहाङफेले अन्नपूर्णलाई बताइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्