काठमाडौँ, २५ जेठ । नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ ।
मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन । सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा यसको प्रवेश तत्कालका लागि टरेको हो ।
हुमागाईंका अनुसार मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकियो । उक्त फट्यांग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्र, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो ।
‘तर पछिल्लो समय सुरु भएको मनसुनी वर्षा र सलहको बथान उत्तरबाट दक्षिणतर्फ आउने क्रममा स–साना टुक्रामा विभाजित भएर भारततर्फ मोडिएकाले नेपालमा तत्काल आउने सम्भावना टरेको हो,’ संयोजक हुमागाईंले भने । उनका अनुसार मन्त्रालयलाई यो फट्यांग्राले तत्काल प्रवेश गर्न नसक्ने भन्दै कार्यदलले प्रतिवेदन बुझाएको छ । यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्