काठमाडौँ, २८ जेठ । आज दिउँसो धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार नेपालमा सामान्यतया जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि यस वर्ष ढिला हुने भएको छ । बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली एक/दुई दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने छ । यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
यसैबीच अहिले कर्णाली प्रदेशको सुर्खेतलगायतको ठाउँमा ठूलो वर्षा भइरहेको छ । यस्तै प्रदेश पाँच, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश २ को पर्सा र आसपासमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्