Banner News

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँछ, खवरदार कसैको घुरपैठ नहोस् : अध्यक्ष प्रचण्ड



काठमाडौँ, ३१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतको निरंकुश राजतन्त्रले गुमाएको नेपाली भूमि वर्तमान गाणतन्त्रको नेतृत्ले फिर्ता ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रियताको सवालमा नेपाल एक ढिक्का रहेको उल्लेख गर्दै गणतन्त्र तथा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउने सवालमा कसैको घुरपैठ भएको पाइएमा नेपाली जनताले त्यसको प्रतिवाद गर्ने चेतावनी समेत दिनुभएको छ ।

राष्ट्रियतालाई खल्वल्याउने गरी कसैबाट परिचालित सडक आन्दोलन प्रति लक्षीत गर्दै अध्यक्ष धमिलो पानीमा कसैले पनि माछा मार्ने प्रयास नगर्न चुनौति समेत दिनुभयो । उहाँले नेपाली जनता राष्ट्रियताको सवालमा कोही सँगै नझुक्ने तथा पुर्खाले बचाएको नेपाली भूमि फिर्ता ल्याउन नेपाली जनता तथा सम्पूर्ण राजनीतिक दल एक भएकाले समेत स्मरण गराउनुभयो ।

लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहितको नयाँ नेपालको नक्सालाई संविधानको अंगबनाउने प्रस्तावका सवालमा आफ्नो धारणा राख्दै उहाँले राष्ट्रिय स्वाधिनता, अखण्डता, भौगोलिकताका सवालमा सानो ठूलो नहुने उल्लेख गर्दै भारतसँग नेपाल वार्ता र छलफलको माध्यमबाट सीमा समस्या समाधान गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो । तथ्य र प्रमाणको आधारमा लिपिम्याधुरा, लिपुलेक तथा कालापानी नेपालको रहेको स्पष्ट रहेको उल्लेख गर्दै दुई देश विचको सचिव स्तरिय वैठकबाट समस्या समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।