काठमाडौँ, ३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणमा काम गरीरहेका २२ वटा संस्थासँग हालसम्म भएको खर्चको विवरण मागेको छ ।
कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको विषयमा संसदको सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको भन्दै स्वास्थ्यले आफूमातहतका २२ वटा निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘यस मन्त्रालयबाट निकासा भएको रकममध्ये त्यहा र अन्तरगत निकायबाट सो रकम के कसरी कुन कुन कृयाकलापमा खर्च भएको हो ? त्यसको औचित्य र त्यसलाई पुष्टि गर्ने प्रमाणित कागजातहरु उपलव्ध गराउनु ।’
मन्त्रालयले आफ्ना मातहतका निकायलाई तीन दिनको अवधि राखेर निर्देशात्मक पत्र पठाएको हो । विवरण मागिएका कार्यालयहरुमा स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, पाटन स्वास्थ्य विज्ञान ललितपुर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कान्ति बाल अस्पताल महाराजगञ्ज र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, कोशी अस्पताल विराटनगर, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज बाँके, डडेल्धुरा अस्पताल डडेल्धुरा, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, धुलिखेल अस्पताल काभ्रे र निजामति अस्पताल नयाँ बानेश्वर रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको थियो ।










प्रतिक्रिया दिनुहोस्