काठमाडौँ, ५ असार । आज विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पाँचवटा उडान हुने भएको छ ।
साउदी, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि प्रत्येक देशबाट एक एक उडान हुने भएको हो ।
यूएईबाट नेपाल एअरलान्समार्फत १४८ जना स्वदेश फर्कने छन् । स्वदेश फर्कनेमध्ये अधिकांश गर्भवती महिला रहेका दूतावासले जनाएको छ ।
जहाज यूएईको स्थानीय समयअनुसार राती १ बजेर २५ मिनेटमा दुबईबाट काठमाडौँका लागि उड्नेछ । बिहान काठमाडौँ आइपुग्नेछ । जहाजले एउटा शव पनि ल्याउने छ । यस्तै आज नै साउदीबाट १८० जना काठमाण्डौ फर्कनेछन् ।
हिमालय एअरलाइन्सको जहाज राति साउदीबाट नेपालका लागि उड्ने र बिहान ६ बजेर ५० मिनेटमा काठमाडौँ आइपुग्नेछ । यस्तै माल्दिभ्सबाट पनि १५० जना स्वदेश फर्कनेछन् । आज नै कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् । तर कुवेत र कतारबाट कति नेपाली फर्कन्छन् भन्ने सङ्ख्या भने यकिन भएको छैन ।










प्रतिक्रिया दिनुहोस्