समाचार

रूकुम घटनामा डाक्टरलाई आपत्



काठमाडौँ, ५ असार । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ । तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन् । उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन् ।

विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यति खेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो । रूकुम पश्चिमको सोतीमा जेठ १० गते ज्यान गुमाएका ६ जनाको पोस्टमार्टम रिपोर्टमा डाक्टरले जालझेल गरेको पीडित पक्षको आरोप छ । शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ले फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित छन् ।

पोस्टमार्टम रिपोर्टको विरोधमा उत्रिएकामाथि प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दा पाँच जना घाइते थिए । प्रदर्शनकारीले अस्पतालका सिसा फुटाइदिएका छन् । अस्पताल तोडफोडबाट एक्सरे मेसिन बिग्रिएको छ ।

डाक्टरमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै स्थानीय प्रशासनले अस्पतालको आवास नछोड्न निर्देशन दिएको छ । अस्पतालमा उनीहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी र प्रहरी खटिएका छन् ।

डाक्टरले पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण पानीमा डुबेर मरेको उल्लेख गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । ‘फोक्सोमा बालुवा छ, पेटमा पानी छैन भनिएको छ । तर, मृत्युको कारणमा पानीमा डुबेर मरेको उल्लेख छ । यो कसरी हुनसक्छ’, संघर्ष समितिका सह संयोजक छवि पन्तले भने, ‘पानीमा डुबेर मरेको शवमा पानी किन छैन ? ’

उनका अनुसार एक जनाको शवको गर्धन पूरै घुम्छ तर रिपोर्टमा हड्डी भाँचिएको छैन भनिएको छ । ‘हड्डी नभाँचिएर गर्धन कसरी घुम्छ ? ’, उनले भने, ‘यसकारण रिपोर्ट पूरै शंकास्पद छ । यो रिपोर्ट कसैको दबाब र प्रभावमा तयार पारिएको हो ।’

पोस्टमार्टम रिपोर्टमा डाक्टरद्वय महेश सिलवाल, सुनील पुनसहित अमिन शाह, रोहित दाहाल र औसरसिंह राठौरले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । स्वास्थ्य सेवा कार्यालय प्रमुख रहेका डा. पुन रुकुम निवासी भएकाले ‘उनको षड्यन्त्रमा रिपोर्ट उल्टो बनाइएको’ पीडित पक्षको आरोप छ ।

डा. मल्लका नातेदार पीडक पक्ष भएकाले उनले आफू नदेखिएर पोस्टमार्टम रिपोर्ट कमजोर बनाउन खोजेको मृतक नवराज विकका बुवा मुनलाल विकको आरोप छ । अधिवक्ता तथा डा. मल्लका बुवा भक्तबहादुर मल्ल पीडकको पक्षमा वकालत गर्न रुकुम पुगेका छन् । डा. मल्ल भने पोस्टमार्टम कार्यमा संलग्न नभएको अस्पतालले जनाएको छ ।

अस्पतालका डा. पुनले पीडित पक्षले लगाएको आरोप गलत भएको दाबी गरे । ‘हाम्रो रिपोर्टमा कज अफ डेथमा ड्रोइङ भन्ने छ । ड्रोइङ भन्नेबित्तिकै डुबेको भन्ने मात्रै अर्थ लाग्दैन । डुबाइएको भन्ने पनि हुन्छ’, उनले भने, ‘हामीले जे देख्यौं, त्यही लेख्यौं। हामीलाई न कसैको दबाब न त कसैको प्रभाव छ ।’

अर्का डा. अमिन शाहले अनायासै विवाद गर्दा आफूहरू असुक्षित भएको बताए । आन्दोलनको नेतृत्व स्थानीय संघर्ष समितिले गरेको छ । प्रशासनले आन्दोलन फिर्ता लिन आग्रह गरे पनि समितिले झन् कडा बनाउँदै पोस्टमार्टम रिपोर्ट तयार गर्ने पाँच जना डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी थालेको छ । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।