राजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी



काठमाडौँ, ८ असार । इलाम जिल्लाका ९ स्थानीय तहमा चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत स्थानीय तहले सडक, खेलमैदान, खानेपानी, सिँचाइलगायत योजना सञ्चालन गरिरहेका छन् ।

सूर्याेदय नगरपालिकाले लकडाउन केही खुकुलो भएका बेला बेरोजगारको हातमुख जोर्ने अवसर दिनेगरी योजना सञ्चालन ग¥यो । लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगरले यहीबेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा रोजगारी दिएपछि उनीहरूलाई खाने–लाउने मेलो मिलेको हो ।

नगरले वडा २ को रमिते खेलमैदान निर्माणमा ६७ जना, वडा ६ कार्यालय जाने सडक र कार्यालय परिसरको सडक स्तरोन्नतिमा ४८ जनालाई रोजगारी दिएको छ । वडा १४ को हजुरे खानेपानी मुहान संरक्षणमा पनि ३७ जनाले रोजगारी पाएको नगरका रोजगार कार्यक्रम संयोजक विष्णु रिजालले बताए । ‘लकडाउनका बेला राहत वितरण गर्नुभन्दा सुरक्षाका उपाय अपनाएर रोजगारी दिनु उचित लागेर हामीले कार्यक्रम सञ्चालन ग¥यौं,’ रिजालले भने, ‘बेरोजगार युवाले महिनादिन रोजगारी पाउनुभएको छ ।’

चालू वर्ष सूर्याेदयलाई यस कार्यक्रममा २५ लाख ९२ हजार रुपैयाँ विनियोजित छ । ‘कार्यक्रम सम्पन्न हुँदा सबै बजेट सदुपयोग हुने नै सम्भावना छ,’ संयोजक रिजालले भने, ‘तीनवटा योजनामध्ये २ वटामा ९६-९६ प्रतिशत र एउटामा ७५ प्रतिशत रकम श्रममै खर्च भएको छ ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।