राजनीति

प्रतिनिधिसभामा नागरिकता विधेयक पेश



काठमाडौँ, ९ असार । संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी हुन् ।

प्रतिनिधिसभाको २०७५ साल भदौ ४ गतेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधन सहित दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो । बैठकको सोही निर्णय र प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय ९ बमोजिम सो विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि भदौ ५ गते नै राज्य व्यवस्था तथा शुसासन समितिमा पठाइएको थियो ।  समितिले २२ महिनापछि नागरिकता (पहिलो संशोधन) विधेयकलाई बहुमतका आधारमा पारित गरि प्रतिवेदन पेश गरिएको हो ।

प्रतिवेदन पेश गर्ने क्रममा सभापति श्रेष्ठले विधेयकमा रहेका अधिकांश विषयमा सर्वसम्मति जुटेको र अन्तिम समयसम्मको अधिकतम प्रयासबाट पनि सहमति जुट्न नसकेका विषयलाई बहुमतका आधारमा पारित गरिएको बताइन् । १४ वटा दफा रहेको सो विधेयकमा २३ वटा दर्ता समूहका ५४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । २०७५ अशोज १९ गते देखि २०७७ असार ७ गते सम्म समितिले ३४ वटा बैठकमा नागरिकता विधेयकका बारेमा छलफल गरेको थियो ।

यसैबीच नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलाले ७ बर्षपछि अंगिकृत नागरिकता पाउने प्रावधान राखेर समितिले विधेयकलाई टुंगो लगाएपनि मधेस केन्द्रीत राजनीतिक दलहरुले यस प्रावधानको विरोध गर्दै आएका छन् । उनीहरुले सो व्यवस्थामा पुर्नविचार गर्न सरकारलाई आग्रह गरेका छन् ।