समाचार

सामाजिक संजाल प्रयोग गरी रकम ठगी गर्ने सातजना पक्राउ



काठमाडौँ, ११ असार । सामाजिक संजाल भाइबर, ह्वाट्स एप, ईमो आदि प्रयोग गरी करोडौं रकम ठगी गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजालको दुरूपयोग गरी अनलाइनको माध्यमबाट ४० लाख रुपैयाँ लट्री परेको छ भनि प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न झापा भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभेका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारतका २२ वर्षीय एमडी सर्फराज, काठमाडौं छाउनी बस्ने रौतहट गौर नगरपालिका–१ का १९ वर्षीय आकाश अग्रवाल, काठमाडौं छाउनी बस्ने रौतहटका १८ वर्षीय एक किशोर, पर्सा वीरगंज महानगरपालिका–२९का ३० वर्षीय कृष्ण प्रसाद साह र सोही महानगरपालिका–३२ बस्ने २० वर्षीय सुनिल साहलाई पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट नगदसहित पक्राउ गरेको हो ।

 उनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृतलगायत सर्वसाधारण व्यक्तिहरूबाट रकम ठगी गरेको, पीडित व्यक्ति आफू ठगिएको थाहा पाए पछि  मानसिक रूपमा विच्छिप्त हुने गरेको, पीडित व्यक्तिले लट्री प्राप्त गर्ने आशामा आफ्नो घर जग्गासमेत धितो राखि घरबारविहिन भएको, ठगी गर्ने कार्यमा भारतीय गिरोहसमेतको संलग्नता रहेको र करोडभन्दा बढि रकम लिइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।