समाचार

घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ



सर्लाही, २४ असार । सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको र श्रीनगर महारानी बजारस्थित कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका प्रवक्ता कोइरालका अनुसार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।