राजनीति

स्थानीयवासीको माग पूरा गरेर मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ



काठमाडौँ, २४ असार । स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपा सांसद शेरबहादुर तामाङले बताएका छन ।

मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा यही असार २१ गते पानी परीक्षण शुरु गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन् ।

सांसद एवं पूर्वमन्त्री तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताए । सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण गर्‍यो, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उनको भनाइ छ ।

उनले खानेपानी मन्त्रालयलगायत सम्बन्धित पक्षलाई बेलैमा ढङ्ग पुर्‍याएर मात्र चल्न आग्रह समेत गरेका छन । तामाङले यही असार २६ गते प्रभावित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यही निर्णयअनुसार अगाडि बढ्नेसमेत जानकारी गराएका छन ।