राजनीति

भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने सांसद बस्नेतको सपना पुरा हुँदै



भक्तपुर, २७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय रंगशाला निर्माण गर्ने सपना पुरा हुने भएको छ ।

लामो समयदेखी स्थानको टुङ्गो नलागेका कारण निर्माण कार्य शुरु हुन नसकेको उक्त अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको लागि चाँगुनारायण नगरपालिकाले वडा नं. ४ र ७ को भँगेरी डाँडामा जग्गा उपलब्ध गराएसँगै निर्माण कार्य शुरु गरिएको छ । संघ सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उपत्यकामा एउटा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय रंगशाला निर्माण गर्ने उल्लेख गरेको थियो । सोही अनुसार उक्त क्षेत्रमा रंगशालाको निर्माण कार्य शुरु गरिएको हो । रंगशाला निर्माणको लागि भक्तपुर जिल्लाका विभिन्न ठाउँहरुमा पटक पटक प्रयास गरिएता पनि जग्गाको व्यवस्थापन हुन नसक्दा समस्या पैदा भएको थियो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त रंगशाला नगरापालिकाले ५० लाख बजेट व्यवस्थापन गरी निर्माण कार्य शुरु गरेको छ । उक्त रंगशाला निर्माण सम्पन्न भएसँगै भक्तपुरको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, रोजगारी, व्यापार व्यवसायलगायतका क्षेत्रहरुमा भक्तपुरले ठूलो फड्का मार्ने देखिएको छ ।

विगत दुई वर्ष अघिदेखी जग्गाको खोजीमा रहेको उक्त आयोजना निर्माण गर्न नदिन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सडक आन्दोलन समेत गरेको थियो । त्यती मात्र नभई भक्तपुर खेतीयोग्य जमित भएको क्षेत्र भएकाले खेतीयोग्य जमिन मास्न नहुने भन्दै रंगशाला, स्मार्ट सिटीलगायतका विकास आयोजनाहरुको भक्तपुर क्षेत्र नं. १ नेमकिपाको तर्फबाट प्रतिनिधिसभाका सांसद रहनुभएका प्रेम सुवालले सडक तथा सदनमा समेत पटक पटक विरोध गर्दै आउनुभएको छ । तर उक्त क्षेत्रमा खेतीयोग्य जमिन मास्न नमिल्ने भन्दा पनि इट्टा भट्टाबाट हट्ने भएकाले आफ्नो आयस्रोत गुम्ने भएकाले विरोध गरिएको स्थानीयवासीले बताएका छन् ।

उक्त रंगशाला निर्माणको लागि नगरपालिकाको साथमा उपभोक्ता समुह, डिभिजन वन कार्यालय, प्रदेश सरकार तथा संघ सरकारबाट समेत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाइएको छ ।

शुक्रवार निर्माणाधिन रंगशालाको अनुगमन तथा निरिक्षणका क्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले चुनौतिको समयमा पनि कासको आरम्भ भएकोमा खुसी व्यक्त गर्नुभयो । व्यवस्थित व्यवस्थापन भएमा विकासको लागि बजेटको अभाव नहुने उल्लेख गर्दै उहाँले दिगो, प्रभावकारी तथा स्थायीत्वको लागि डिजाईनमा सुन्दरता, स्रोत साधन परिचालनमा योजनावद्ध तथा व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो ।

खेलकुद हुनेखाने मानिसको लागि मनोरञ्जनको साधन मात्र नभई प्रत्येक मानिसको स्वास्थ्य सँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘धैर्यताको साथ नगपालिकाले नेतृत्व गरोस्, संघ सरकार साथमा हुनेछ ।’

कार्यक्रममा बोल्दै सांसद बस्नेतले कतिपय व्यक्तिहरुले सानो स्वार्थका कारण विभिन्न कुराहरुको अनावश्यक हल्ला गरी गाउँवासीलाई दुःख दिने, मुद्धा लगाउने, अप्ठ्यारोमा पार्ने समेत गरेकोमा दुःख व्यक्त गर्दै दुःखसँग नडराउन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भँगेरेवासी जनता नविराउनु, नडराउनु तपाईहरुको साथमा हामी छौं । कुनै पनि व्यक्तिले राजनीतिक तथा अन्य केही आग्रह, पूर्वाग्रह राखेर जनतालाई दुःख दिए त्यसलाई बुद्धिमता ढंग, विधिसम्मत तवरले समाधान गर्छौं ।’

नेपाल सरकारले उपत्यकामा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने कार्यक्रम ल्याएको र सोही अनुसार प्रकृया अघि बढेको जानकारी गराउँदै उहाँले उक्त स्थानमा खेलकुद तथा पर्यटनको महत्वपूर्ण उद्गम स्थलको रुपमा विकास गर्ने योजना बनिरहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा मन्त्री विश्वकर्मा, सांसद बस्नेत, बाग्मती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ, कृष्ण लाल भडेल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,चाँणपाका नगर प्रमुख सोम मिश्र, भक्तपुर प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, भक्तपुर जिल्ला खेलकूद परिसदका अध्यक्ष भक्त कासिछवा, नेकपा भक्तपुर जिल्लाका अध्यक्ष बचन देउजा, सचिव डि पी ढकाल, समाज सेवी रोमन सिलाकर, समाज सेवी विज्ञान राई, लगायत स्थानियवासीको उपस्थिति रहेको थियो ।