समाचार

बाढीमा परेर झापामा एक जनाको मृत्यु, एक बेपत्ता



झापा, २८ असार । अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेश छन् । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए ।

प्रहरी चौकी, शरणामती र इलाका प्रहरी कार्यालय, कुमरखोदको टोलीले बाह्रदशी गाउँपालिका–२ मा उनको शव फेला पारेका थिए । त्यस्तै भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई छन् । नुहाउने क्रममा उनी बेपत्ता भएको र प्रहरी चौकी महेशपुरबाट टोली गइ खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।