काठमाडौँ, २८ असार । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि भोलि सोमबार र मंगलबार उडान नहुने भएको छ ।
लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको विदेशमा कोरोनाका कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
फेरि जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।
सरकारले आजैदेखि उडान स्थगित गर्ने भने पनि आज विभिन्न ६ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । आज बहराइन, जापानको नारिता, फिलिपिन्सको मनिला, साउदीको दमाम, मलेसियाको क्लालाम्पुर, यूएईको दुबईबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले नेपाली लिएर आउँदै छन् ।










प्रतिक्रिया दिनुहोस्