काठमाडौँ, ३१ असार । राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
ग्लोबल वाच एनालाईसिको हवाला दिँदै केही अनलाईन मिडियाहरुले गैर जिम्मेवारीपूर्वक भ्रामक, गलत तथा चरित्रहत्या गर्ने झुठा समाचारहरु प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले गम्भिर आपत्ती प्रकट गर्नुभएको छ ।
प्रेस वक्तव्य
“ग्लोबल वाच एनालाइसिस”को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।
राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।
आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।
सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७










प्रतिक्रिया दिनुहोस्