काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले स्थापना गरेका मानक आफ्ना लागि सधैं मार्गदर्शन बनरिहने बताएका छन् ।
पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता नेपालले श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुष्पलालले स्थापना गरेका पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सकेको बताएका छन् ।
नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरु हाम्रा लागि सधैँ मार्गदर्शनका रुपमा छन्’, ‘कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरुले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ ।’ ‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्