राजनीति

मेलम्ची खानेपानी आयोजनाको सुरुङ दुर्घटना : गेट डिजाइनमै त्रुटी



काठमाडौँ, १२ साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा राखिएका गेटका डिजाइन नै त्रुटीपूर्ण रहेको पाइएको छ । मेलम्ची सुरुङ दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले मजबुत ढंगले गेटको डिजाइन नभएको अन्तिम निष्कर्ष निकालेको हो ।

‘गेटको डिजाइनमै त्रुटी भएको फेला पायौँ,’ छानविन प्राविधिक समितिका संयोजक रमाकान्त दुवाडीले भने । समितिले छानविन प्रतिवेदनसमेत तयार पारिसकेको उनले जानकारी दिए । समितिले सोमबार खानेपानी मन्त्रालयलाई प्रतिवेदन बुझाउने भएको छ । दुवाडीका अनुसार समितिले आइतबारै मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर ब्याण्डिङ लगायत साजसज्जाको काम साँझ मात्र सकिएकाले समितिले प्रतिवेदन बुझाउन भ्याएन ।

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएको थियो । सो क्रममा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो । घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शब फेला पारे पनि एक कर्मचारी अझै बेपत्ता छन् । यो खबर अजाको नागरिक दैनिकमा छापिएको छ ।