राजनीति

सांसद बस्नेतद्वारा प्राचीन रानीकोट गडीको सिंडी तथा प्रवेशद्वार उद्घाटन



भक्तपुर, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ काे सिमानामा पर्ने प्राचीन रानीकोट गडीको सिंडी तथा प्रवेशद्वार उद्घाटन गर्नुभएको छ ।

विकास र समृद्धिको यात्राको साथ साथै आर्थिक वृद्धिदरको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई लिइन्छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण सुस्ताएको पर्यटकीय स्थलहरुको सरकारले लकडाउनलाई खुलाएसँगै केही मात्रामा चहलपहल सुरु भएको छ । सोही क्रममा भक्तपुरमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लकडाउन खुलेसँगै पर्यटकीय क्षेत्रको विकासलाई समेत विशेष रुपमा चासोका साथ अघि बढाइएको छ ।

बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाद्वारा निर्मित प्राचीन रानीकोट गडीको सिंडी तथा प्रवेशद्वार सांसद बस्नेतद्वारा विहिवार उद्घाटन गरिएको छ । भक्तपुरको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा रानीकोटलाई लिने गरिन्छ । उक्त स्थानबाट करिव डेढ दर्जनभन्दा बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ भने प्रकृतिक तथा वातावरणीय मनोरमका दृष्यावलोकन गर्न सकिन्छ ।

एक करोडको लागतमा निर्माण गरिएको उक्त प्रवेशद्वार उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा पर्यटन क्षेत्र रहेकाले यसको विकास, प्रवद्र्धन, संरक्षण तथा सम्बद्र्धन गर्नु तीनवटै तहका सरकारले विशेष योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रबाट सरकारलाई आर्थिक वृद्धिदर हासिल गर्ने मात्र नभई हजारौं युवाहरुलाई रोजगारीको वातावरण समेत सिर्जना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुरको रमणीय स्थलको रुपमा रानीकोट रहेको उल्लेख गर्दै उहाँले उक्त स्थानबाट डेढ दर्जनभन्दा वढी हिमालहरुको अवलोकन गर्न सकिने बताउनुभयो । रानीकोट भक्तपुरको मात्र नभई मुलुकको नै पर्यटकीय स्थालको रुपमा परिचित भएको उल्लेख गर्दै उहाँले उक्त क्षेत्रको आसपासमा प्याराग्लाईडिङ, बन्जी जम्प, इको भिलेजलगायतका विभिन्न प्रकारका पर्यटकलाई आकर्षण गर्ने कुराहरुको समेत विकास हुने क्रममा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य शशी जंग थापा, सूर्यविनायक नगरपालिका उपमेयर जुना बस्नेत, सूनपा वडा नं ८ का वडा अध्यक्ष किरण थापा र पनौति नगरपालिका वडा नं १ का अध्यक्ष गुणनाथ सापकोटा उपस्थित रहेको थियो।