राजनीति

विदेशमा रोजगारी गुमाएका श्रमिकको निःशुल्क उद्धार सुरु



काठमाडौँ, २१ साउन । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार थालिएको छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावासले आवेदन दिन अनुरोध गर्न थालेका छन् । कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत सरकारले उद्धार गर्ने निर्णय गरेको छ ।

तपाईँ मलेसियामा हुनुहुन्छ र रोजगारी गुमेको छ तथा घर फर्कन टिकट काट्न सक्नुभएको छैन भने आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले तोकेको निवेदन ढाँचा अनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल [email protected] मार्फत पठाउन सकिनेछ । साथै दूतावासको हटलाइन नम्बर ६०१६२४२७७७ मा ह्वाट्स्एप गरेर पनि निवेदन पेश गर्न सकिन्छ ।

निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्छ । दूतावासले आवेदकको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजको विवरण परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार बोर्डमा पठाउने र बोर्डको कोषबाट रकम निकासा भएपछि टिकट उपलब्ध गराउने दूतावासले जनाएको छ ।
तर हवाई टिकटको सुविधा मात्र लिने मनसायले कुनै व्यक्तिले तथ्य फरक गरी वा झुटा विवरण पेश गरेर सुविधा लिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने दूतावासले जनाएको छ ।

नेपालबाट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको व्यक्तिले रोजगारी गुमाएको र घर फर्कन रोजगारदाताले टिकट नदिएको भएमा टिकटका लागि आवेदन दिन सकिन्छ ।

सम्बन्धित गन्तव्य देशको सरकार(मलेसिया वा ब्रुनाई) रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला संस्था वा अन्य स्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा घर फर्कन नसक्ने अवस्थाका व्यक्तिलाई हवाई टिकट उपलब्ध हुनेछ ।

सरकारले सरकारबाट आममाफी पाएका, डिटिन्सन सेन्टरमा रहेका र घर जान अनुमति पाएका, जुनसुकै कारणले भए पनि बहिर्गमन भिसा पाएका र रोजगारी गुमाएका व्यक्तिलाई निःशुल्क उद्धारको प्राथमिकतामा राखेको छ ।