राजनीति

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका सेवा कटौती



काठमाडौँ, २४ साउन । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार आकस्मिक रूपमा बसेको बैठकले तीनवटै जिल्ला प्रशासन कार्यालयबाट दिँदै आएका महत्वपूर्ण सेवा कटौती गर्ने निर्णय गरेको हो ।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले ती सेवाहरू आगामी २५ साउनदेखि ८ भदौसम्म स्थगित गर्ने निर्णय गरेका हुन् । सुरक्षा प्रोटोकल पालना गरे–नगरेकोबारे काठमाडौँ प्रशासनले कडाइका साथ अनुगमन गर्नेछ, अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नगरेको पाइए संघसंस्था बन्द गराइनेछ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा संक्रमण तीव्र रूपमा बढ्दै गइरहेकाले जोखिम कम गर्न प्रशासन कार्यालयबाट दिइने सेवाहरू स्थगित गरिएको जानकारी दिए । जसअनुसार आइतबारदेखि नै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता वितरणसम्बन्धी सबै कार्य बन्द हुनेछन् ।

त्यसैगरी, बन्द गरिएका सेवाहरूमा हातहतियार दर्ता नवीकरणसम्बन्धी कार्य, संस्था तथा पत्रपत्रिका दर्तासम्बन्धी सबै कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण कार्य रहेका छन् । तर, शान्ति सुरक्षासम्बन्धी सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

यसैगरी, ठाडो निवेदन तथा उजुरीसम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यका सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । बढी संक्रमित देखिएका स्थानलाई सिलसमेत गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट दिइने केही सेवाहरू बन्द भए पनि अन्य सरकारी कार्यालयले भने सेवा प्रवाह जारी राख्नेछन् । नागरिकता तथा राहदानी बनाउने कार्यमा लागि प्रशासन कार्यालयमा धेरै व्यक्तिको भीड हु्ने र त्यसले संक्रमणको जोखिम बढाउन सक्ने भएकाले ती सेवाहरू तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

‘अहिले काठमाडौँलाई लकडाउन गरिएको होइन, केही सेवा मात्रै बन्द गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी दाहालले राजधानीसँग भने । दाहालका अनुसार अन्य सबै सरकारी कार्यालयले भने सुरक्षाका सबै विधि अपनाएर आफ्ना सेवा जारी राख्नेछन् ।

व्यापारिक संघसंस्थाले पनि सुरक्षा प्रोटोकललाई कडाइका साथ पालना गरेर आफ्ना सेवाहरू प्रदान गर्नुपर्ने भएको छ । सुरक्षा प्रोटोकल पालना गरे–नगरेको बारे काठमाडाैं प्रशासनले कडाइका साथ अनुगमन गर्नेछ । अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नगरेको पाइए त्यस्ता संघसंस्था बन्द गराइने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । यो समाचार राजधानी दैनिकमा छ ।