समाचार

आजको मौसम



काठमाडौँ, २४ साउन । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले आज रातिदेखि पानी पर्ने क्रम बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी र पहिरोको जोखिम बढेको छ । अहिले घाम लागेको ठाउँको मौसम पनि दिउँसोपछि बादल लाग्नेछ । यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने जनाइको छ ।

त्यस्तै आज दिउँसो देशभरिकै मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएकाले नदी आसपास, तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच कास्कीको लुम्ले र आसपासका क्षेत्र तथा सिन्धुपाल्चोकको बाह्रबिसे र आसपासका क्षेत्रमा राति ठूलो पानी परेको र अझै पानी पर्ने सम्भावना रहेकाले एक्कासी बाढी आउने र पहिरो खस्न सक्ने भएकाले बिहान १० बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।