विचार/ब्लग

मौषमी कुराः मकै र समृद्धि



तेजबहादुर ढकाल

संसारकै समृद्ध मुलुक अमेरिकामा मकै औधि नै लोकप्रिय खाद्यान्न हो । त्यहांको मकै विश्व विख्यात पनि छ । सायद इतिहासमा भोकमरी नै थियो होला । त्यसैले उनिहरुले मकैमा दाना नलाग्दै कलिलो खोयो “जसलाई उनीहरु बेबी कन भन्छन” खान थाले । त्यस पछि दुधे मकै “स्वीट क्रन” खान थाले । त्यस पछि मकैको सुजि र चामल पछि भुटेको मकै “पप कन” खान सिके । पछि यी सबै औधि पोषिलो खानाका रुपमा पनि प्रमाणित भई हाईब्रिड़का साथ विश्व विख्यात हुन पुगे ।

यता हामी भने कहिल्यै भोकमरी थाह नपाएका भएर होला । बुवाले कुरिलो र भलायो ल्याएर साउने सक्रान्तिमा मकै चडाएर लुतो फाले पछि मात्र मकै चाख्ने मान्छे हौं । यति बेला सम्म त दुई तिहाई मकै बोटमै सुकिसकेका हुन्छन् । दुधेमकैको वास्तविक स्वाद नै थाह पाएका हुदैनौं ।

उता घरबारी संगै मतानमा गाई भैसी बांधेको हुन्छ । मकै गोड्न थाले देखि बाबा र आइ आइ गरिरहेका हुन्छन् । एक बोट हरियो मकै खान पाउदैनन् । उनीहरु कै अगाडि मकै सुकेर ढोडको कुन्यु बनाईन्छ । सुकेको खोयो, ढोड र खोसेला मात्र खान दिईन्छ । उता लैनो दुहुनो भयो भने मल्खु र पिठो पनि फत्काएर दिने चलन छ । काचो पचाउन सक्ने पाचन प्रणाली भएको पराल, खोसेला, ढोड र खोयो पचाउने गाईभैसीलाई मल्खु र पीठो फत्काएर ख्वाउनु भाडो र दाउराको अनाबश्यक खर्च मात्र हैन वातावरणीय बिनास पनि हो ।

हामीले पनि अमेरिकनहरुले जस्तै बेवी कन र स्वीट कन खाने हो भने यी बस्तुभाउले पनि हरियोे ढोड, खोसेला र खोयो खान पाउने थिए होला । हामीले पनि स्वास्थ र स्वाद दुबैको मजा लिन पाउने थियौै होला ।

त्यसैले समृद्धि भनेको आय आर्जन मात्र हैन चेतना र सोचमा परिवर्तन पनि हो । समृद्धि भनेको भौतिक पूर्वाधार र सुशासन मात्र हैन जीवन स्तरमा बृद्धि र वातावरणीय सुधार पनि हो । यसको सुरुवात हामी सामान्य मकैको उत्पादन र उपयोग बाटै पनि गर्न सक्दछौैं ।

काठमाडौ, साउन १, २०७९