राजनीति

सूर्यविनायक नगरपालिकाद्वारा टोलटोलमा स्वाब संकलन अभियान सुरु



भक्तपुर, १५ भदौ । सूर्यविनायक नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्रयाक ट्रेसिङ्ग गर्दै स्वाब संकलन अभियान सुरु गरेको छ ।

नगरपालिकाले आज सूर्यविनायक चोक (ट्रलि बसपार्क)मा वडा नं. ६ र ८ का कन्ट्रयाक ट्रेसिङ्गमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाएको छ । नगरपालिका क्षेत्रमा जोखिम युक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोल टोलमा स्वाब संकलन सुरु गरेको हो ।

नगर प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं. १, ६ र ८ का वडाध्यक्षहरु क्रमशः सानुकाजी कायस्थ, राजेश्वर भुजु र किरण थापा, वडा नं। २ र ३ का वडासदस्यहरु सुवास कार्की, प्रभुराम श्रेष्ठसहितको जनप्रतिनिधीको टोली सहभागि भएर स्थानीयको स्वास संकलन गराउनु भएको थियो ।

नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक संख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिम युक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताउनुभयो ।

उहाँले नगरपालिकाले आवश्यकताको आधारमा जोखिमयुक्त टोल मै पुगेर स्वाब संकलन गर्ने, उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने, सङ्क्रमण पुष्टी भएका तर लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने, सक्रिय सङ्क्रमितलाई अस्पताल लैजाने लगायतका कामलाई व्यबस्थित रुपमा सञ्चालन गरेको बताउनुभयो । यो नगरपालिकामा कन्ट्रयाक ट्रेसिङ्ग सकिएपछि थप सङ्क्रमित बढ्न नदिन विशेष अभियान थालेको जानकारी बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण भएका व्यक्तिहरुसंग सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरी आज दुईवटा वडाको स्वाब संकलन गरेको नगरपालिकाका उपप्रमुख जुना बस्नेतले बताउनुभयो । उहाँले सम्भावित जोखिम क्षेत्रमा जनचेतना अभिबृद्दिका कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

प्रशासकीय अधिकृत ज्ञवालीले स्वाब संकलन गर्न टोलटोलमा जानका लागि नगरपालिकाले नेपाली सेनाको वीरदल गण सूर्यविनायकको समन्वयमा स्वाब संकलन गर्ने विशेष भ्यान नै तयार गरेको बताउदै यो भ्यानले आगामी दिनमा टोलटोलमा गएर स्वाब संकलन गर्न सहज हुने बताउनुभयो । सूर्यविनायक नगरपालिकामा अहिलेसम्म ७५ पुरुष र ५४ महिला गरी १२९ रहेकोमा ५२ पुरुष र ३९ महिला गरी ९१ जना सक्रिय सङ्क्रमित रहेको बताउनुभयो ।

जसमा ६५ जना होम आइसोलेसनमा रहेको, २६ जना अस्पतालमा उपचाररत रहेको, २१ पुरुष र १४ महिला गरी ३५ जना निको भएर घर फर्किएको र दुई महिला र एक पुरुष गरी तीन जनाको ज्यान गएको ज्ञवालीले जानकारी दिनुभयो । अहिलेसम्म २०५ को कन्ट्रयाक ट्रेसिङ्ग गरिएकोमा ४५ जना अर्थात २२ प्रतिशतमा पीसीआर पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो । आज ५५ सहित २६० जनाको कन्ट्रयाक ट्रेसिङ्ग गरी स्वाब संकलन गरिएको छ ।