समाचार

थप एक जना कोरोना सङ्क्रमितको मृत्यु



चितवन, २४ भदौ । भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि खोकीसहित  श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मंगलबार साँझ ५ः३० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।