राजनीति

नेपाली पर्वका विविधता हाम्रा बहुमूल्य पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्छ: प्रम ओली



काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मनाईने तथा प्रचलित पर्वहरुका विविधता हाम्रो बहुमुल्य पूँजी भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरुले ब्रत बसी मनाइने यस पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्दछ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । सप्तमीको बिहान ब्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश भएको उल्लेख गर्दै उहाँले नेपालमा प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । संवैधानिक ब्यवस्था तथा राज्यको नीतिद्वारा हामीले यस्तो सांस्कृतिक विविधताको रक्षा गर्दै आएका छौं । यी पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् ।’

घरमा नै बसेर जितिया पर्व मनाउन आव्हान गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोभिड–१९ को विश्वब्यापी महामारीका कारण यसवर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन म हार्दिक आह्वान गर्दछु ।’