राजनीति

नेकपाभित्र अध्यक्ष प्रचण्डको परीक्षा सुरु



काठमाडौँ, २६ भदौ । आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्निपरीक्षा सुरु भएको छ । पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो । अधिकार पाएपछि दाहालले कसरी पार्टी चलाउँछन् र विवाद समाधान गर्छन् भन्ने विषय उनको कार्यशैलीमा निर्भर रहनेछ ।

पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको कार्यान्वयन समझदारीपूर्ण एवं प्रभावकारी रुपमा हुन नसक्दा बेला बेलामा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुँदै आएको छ । यसको नकारात्मक असर समग्र दल तथा सरकारको काममा परिरहेको छ । यस्तो अवस्थामा दुई अध्यक्षले जिम्मेवारी बाँडफाँट गर्दा पाटी सञ्चालनको जिम्मेवारी दाहालको काँधमा आइलागेको छ । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गतेको सहमति अनुसार दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि उनलाई बैठक सञ्चालन गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार थिएन । तर अहिले पार्टी सञ्चालन गर्ने सबै अधिकार दाहालले पाएका छन् ।

पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटी बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल बनाउनेगरी ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने तथा दाहालले कार्यकारी अधिकारसहित पार्टी बैठक सञ्चालन, निर्णय कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारी पाएका छन् । यसबाट दाहालको काँधमा पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने दायित्व थपिएको छ । ‘दाहालले बैठक सञ्चालन र निर्णय कार्यान्वयन गर्ने अधिकार पनि पाएपछि पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने जिम्मेवारी पनि उहाँकै हुनेछ’, स्थायी कमिटीमा ओली निकट मानिने एक सदस्यले भने । याे खबर नागरिक दैनकमा छ ।