राजनीति

अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता



काठमाडौँ, २९ भदौ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो । नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै अध्यक्ष तिमिल्सिनाले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर-व्यवस्थापिका संघ लगायतका संस्थामा दुई देश एकैठाउँमा रहेकाले हाम्रो सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राख्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरु दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको कोरोनाको महामारिलाई चुनौति सामना गर्न सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्धलाई मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै उहाँले पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निम्ता गर्नुभयो ।

भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्नपाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पाकिस्तान दक्षिण एसियाली देशको सहकार्य, स्थायित्व, शान्ति, समृद्धीको पक्ष रहेको बताउनुभयो ।