राजनीति

जब मन्त्री भट्ट नै प्याज किन्दा ठगिए…



काठमाडौँ, १ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् । व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए । उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो ।

साधारण वेषभूषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन् । अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा ७ वटा पसल सिल गरिएको थियो । बल्खु बजारको थोक बिक्रेता एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले सुनाए ।

ओझाका अनुसार प्याज लुकाउन प्रयोग गरिएको एक थान पिकअप भ्यान पनि नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको छ । बल्खु बजारकै २ पसलबाट २ सय ४० बोरा प्याज सिल गरिएको थियो । मन्त्री भट्ट नेतृत्वको अनुगमन टोलीले थप कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको छ । विभागले पनि बुधबारै बल्खु बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा बल्खु बजारका ४ व्यापारीसँग स्पष्टीकरण सोधिएको छ । यसअघि कालीमाटी बजारका ३ जना व्यापारीसँग मंगलबार स्पष्टीकरण सोधिएको थियो । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।