Banner News

प्रम ओलीको संकल्प पुरा गर्न घिसिङ सारथी बन्नुभयो, पुनर्नियुक्ति गर्न सक्छः मन्त्री ज्ञवाली



गुल्मी, २ असोज । परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने प्रधानमन्त्री केपी शर्माओलीको संकल्प पुरा भएको बताउँदै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्न सक्ने बताउनुभएको छ ।

बिहिवार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंग गुल्मीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री र हालसम्मका उर्जामन्त्रीहरुको अथक प्रयासले लोडसेडिङ्ग मुक्त गर्ने संकल्प पुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री ओलीज्युले जिम्मेवारी सम्हालेपछि मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने संकल्प गर्नुभएको थियो । उहाँले त्यस्तो संकल्प गर्दा ब्यंग्य गर्नेहरु पनि थिए, आखिर मुलुक लोडसेडिङ्गमुक्त भएरै छाड्यो नि होइन र ? जुन संकल्प पुरा गर्नमा कुलमान घिसिङ सारथी बन्नुभयो । सरकारले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्छ ।’

परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वाजानिक गरेको मात्र नभई जमिन फिर्ता गर्नका लागि पहल समेत गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यसअघिका सरकारले त्यो जमिन नेपालको हो भनेर भन्न समेत खुट्टा कमाउँथे । अहिलेको सरकारले त्यो जमिनलाई आफ्नो नक्सामा राख्ने हिम्मत देखायो । जसरी घर बनाउन पहिला जग्गा पास गर्नुपर्छ, त्यसरी नै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई सरकारले आफ्नो जमिनका रुपमा पास गरेको छ, अब फर्काउने पनि छ ।’