विश्व

बेलायतमा २४ घण्टामा २३ हजार कोरोना संक्रमित थपिए



काठमाडौँ, १९ असोज । पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् ।

करिब दुई हप्ताअघि दैनिक तीन हजार भन्दा कम संक्रमित रहेको बेलायतमा आइतबारको सार्वजनिक तथ्यांक अनुसार सात गुणाले वृद्धि भएको छ ।

आइतबार राति करिब साँढे नौ बजे सार्वजनिक गरिएको तथ्यांक अनुसार २४ घन्टामा थप २२ हजार ९ सय ६१ जना नयाँ संक्रमित पुष्टि भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । शनिबार सार्वाजनिक तथ्यांकमा पनि अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर अर्थात १२ हजार ८ सय ७२ नयाँ संक्रमित थपिएका थिए ।

यसैगरी गएको २४ घन्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ५० पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार बेलायतमा ५ लाख २ हजार ९ सय ७८ जना संक्रमित भएका छन् ।

हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जनाको कोरोना सम्बन्धि उपचार भैरहेको छ भने ३ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।