काठमाडौँ, २४ असोज । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले वर्तमान समय विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिलेको समय भनेको मतभेदको मूल्यलाई आत्मसात गर्ने र सहकार्यबाट लाभ लिने समय भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको जारी ७५ औं सभामा असंलग्न आन्दोलन (नाम) संलग्न मुलुकका परराष्ट्रमन्त्रीहरुको वैठकलाई सम्बोधन गदै मन्त्री ज्ञवालीले प्रभावकारी र समन्वयकारी प्रयासबाट मात्रै कोभिड विरुद्धको लडाई जित्न सकिने धारणा राख्नुभयो । कोभिड–१९ को महामारीको समयमा अन्तर्राष्ट्रिय जिम्मेवारी त्यागेर स्व–केन्द्रित राष्ट्रवादको साहरा लिने उपयुक्त समय नभएको समेत उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी एक भए बलियो हुन्छौ, विभाजित भए कमजोर, हामी कमजोर भए भाइरसले जित्छ । अहिलेको समय भनेको मतभेदको मूल्यलाई आत्मसात गर्ने र सहकार्यबाट लाभ लिने हो । त्यसैगरी वहुपक्षीय संस्थाहरुलाई सबल बनाउने र संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर वहुपक्षीयतालाई प्रवर्द्धन गर्ने हो ।’
कुनै पनि ठूला वा साना मुलुक शान्ति र गरिमासहित सहअस्तित्वमा रहन ऐक्यवद्धता र सहकार्यको मर्मलाई कायम राख्नुपर्ने बताउँदै उहाँले नामप्रतिको नेपालको प्रतिवद्धता पुनः दोहोयाउँदै नामलाई अझै प्रभावकारी र यसको सिद्धान्तहरुप्रति दृढ रहने संगठनको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।










प्रतिक्रिया दिनुहोस्