राजनीति

चाडपर्वको अवसर छोपेर बढी भाडा लिनेलाई ठगीमा मुद्दा चलाइने



काठमाडौँ, २६ असोज । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्दा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारबाही गरिने बताएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक-चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर गाडीमाथि निगरानी बढाइने बताउनुभयो । ‘कोभिड-१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ’, उहाँले भन्नुभयो ।

यसवर्ष उपत्यकाका १४ ठाउँमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ । यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण हुने महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारबाही गरीने भएको छ । यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ । रासस