Banner News

अब कसैले देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली आफ्नो अभिष्ट पूरा गर्न सक्दैनः प्रम ओली



काठमाडौँ, ३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न नसक्ने बतानुभएको छ ।

जंगी अड्डामा आयोजित यस पृतनापति समन्वयात्मक बैठकको समुद्घाटनको अवसरमा प्रधानमन्त्री आोलीले मुलुकमा अस्थिरता फैलाउने केही व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति भएको उल्लेख गर्नुभयो । नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने अन्तक्रियाहरु राष्ट्रिय सुरक्षाका चुनौतीहरु पहिल्याउन महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । राष्ट्रिय सुरक्षा एक संवेदनशील र गहन विषय भएकाले यस्ता विषयमा निरन्तर अनुसन्धान, छलफल र अनतर्क्रिया भइरहन आवाश्यक रहेको बताउँदै यस्ता छलफल र यसका निष्कर्षहरु सबैतहका लागि फलदायी हुने बताउनुभयो । नेपाली सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्यहरु उच्च राष्ट्रिय महत्वका हुने भएकाले सेनाले सम्पन्न गरेका सबै कार्यहरु राष्ट्रिय उपलब्धिहरुका रूपमा लिन सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतिहरुका बावजुद एकातिर पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवम् विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सम्बोधनका आवश्यकताहरु तत्कालीन चुनौतिका रुपमा टड्कारो देखिएका छन् । अर्कातर्फ, विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएका छन् । तसर्थः राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति हुन् । यसैगरी नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठ सम्बन्धमा पनि नेपाली सेना चनाखो हुनुपर्दछ । विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।’

नेपाली सेनाले कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबानजस्ता विपद्को अवस्थामा निर्वाह गरिरहेका पूति पनि आफूले उच्च मूल्याङ्कनका साथ हेरिरहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाले कोरोना भाइरसको महामारी र बिपद् ब्यावस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।