राजनीति

सांसद बस्नेतद्वारा दशैं भत्ता ‘गरिव, असहाय तथा विपन्न’को उपचारका लागि भक्तपुर अस्पताललाई हस्तान्तरण



भक्तपुर, ३ कार्तिक । रमेश गिरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्ता भक्तपुर अस्पतालमा उपचार गराई रहनुभएका गरिव, विपन्न तथा असहायलाई उपचार गर्ने गरी हस्तान्तरण गर्नुभएको छ ।

भक्तपुर अस्पतालमा सेवा लिन आउने गरिब, विपन्न तथा असहाय विरामीको उपचारका लागि खर्च गर्नेगरी आज भक्तपुर अस्पताललाई उहाँले दशैं भत्ता वापतको रकम हस्तान्तरण गर्नु भएको हो । भक्तपुर अस्पताल पुगेर उहाँले अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमलाई रु. ६५ हजार हस्तान्तरण गर्नु भएको हो । उहाँले यसअघिका दशैंमा पनि दशैं भत्ता गरिब, असहायका लागि वितरण गर्नु भएको थियो ।

नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोक्न स्वास्थ्य मापदण्डको पालना गर्ने र आफै सचेत हुने उपाय उत्तम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तलब भत्ता नलिएर उच्च स्तरको जीवन जिउने नेताहरुलाइ मेरो सुझाब जीवन शैली सरल र पारदर्शी बनाउनुपर्छ । कोरोनाको कारण चाडपर्ब तडक भडक गरेर मनाउनु हुन्न । भत्ता बराबरको पैसा गरिब असाहायलाई सहयोग गरौं । सरकारलाई भत्ता फिर्ता गर्नु भनेको केही मिडियाको नौटन्की र केही नेतको सेलिबेट्री बन्ने नाटक हो । हामी भ्रष्टाचार बिरुद्ध र अबैधानिक बजेटको बिरोध गर्ने हो । सरकारी बैधानिक ब्यबस्था गरेको विषयमा धेरै बहकिन हुन्न ।’

अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्नेमा चर्चा गर्दै उहाँले सबै स्थानीय सरकारले आफ्नो स्थानीय तहमा अस्पताल निर्माण गर्र्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सूर्यविनायक नगरपालिका–८ जगातीमा सूर्यविनायक नगरस्तरीय अस्पताल निर्माण गर्ने कार्य सुरु भएको भन्दैै उहाँले. दुई साता मै अस्पताल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “यो स्वास्थ्य संकटको अबस्थामा सूर्यविनायकमा एउटा अस्पताल आवश्यक भएको मैले महसुस गरेँ, अनि सूर्यविनायक नगरपालिकाका मेयरसंग छलफल गरे, त्यसपछि सबै सरोकारवालाको छलफलसंगै नगरपालिकाले अस्पताल निर्माणको निर्णय गर्यो, मैले पाउने सांसद विकास कोषको रकम मध्येबाट अस्पतालका लागि रु.एक करोड ५० लाख र थप रकम सूर्यविनायक नगरपालिकाले खर्च गर्नेगरी अस्पताल सञ्चालनमा ल्याउने भएका छौंँ ।”

जगातीको इँटा तथा टायल कारखाना भित्रको ३० रोपनी क्षेत्रफलमा ५० शैय्याको अस्पताल निर्माण गरी तत्कालै सञ्चालनमा ल्याउने र यहीँ अस्पताललाई सूर्यविनायक नगरपालिकाको स्थायी अस्पतालको रुपमा रुपान्तरण गर्ने लक्ष्य राखेका उहाँले बताउनुभयो ।

सांसद बस्नेतले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा काभिड–१९ का विरामीको उपचारका लागि सहयोगी हुने नर्सिङ् रोबर्ट र भेन्टिलेटर खरिदलाई सांसद कोषको रकम दिन लागेको बताउनुभयो । थिमि नगरपालिकासहितको साझेदारीमा रु. ५० लाखमा नर्सिङ रोबर्ट र भेन्टिलेटर खरिद गर्ने भएको उहाको भनाइ छ ।