राजनीति

दशैंमा पनि कतै सडक कालोपत्र त कतै पुल उद्घाटनमा ब्यस्त सांसद बस्नेत



भक्तपुर, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी कोरोना कहरकाबीच पनि नागरिकले स्वास्थ्य मापदण्ड पालना गरी मनाई रहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको भने चाड पर्वमा पनि विकासको चिन्ता लिईरहनु भएको छ ।

जिल्लाका विभिन्न भागहरुमा सडक, विद्यालय, ठूला तथा साना पक्की पुल, खानेपानीका आयोजना, झोलुङ्गे पुल, ढल, मन्दिर, स्वास्थ्य चौकी, विद्यालयका भवनलगायतका सयौं आयोजनाहरु निर्माणको क्रममा रहेका छन् भने कतिपय आयोजनाहरु उद्घाटनको चरणमा पुगेका छन् । त्यस्तै कतिपय आयोजनाहरु शिलान्यासको पर्खाइमा समेत रहेका छन् । त्यस्तै भक्तपुरलाई पर्यटकीय, सांस्कृतिक, धार्मिकलगायतको गन्तव्यको रुपमा विकास गर्न आवश्यक कामहरु भइरहेका छन् ।

बजेटको व्यवस्थापन गरेर मात्र आयोजनाको स्थायीत्व र दिर्घकालिन नहुने भन्दै सांसद बस्नेतले विजया दशमी चलिरहँदा चाड पर्वसँगै आयोजनाको अनुगमनलाई निरन्तरता दिइरहनुभएको छ । यसै क्रममा सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको हर्षचोक, माकलेपाटी, गुण्डू सडक खण्डको हर्षचोकबाट खरिको बोट हुँदै संगम चोकसम्म ढल र फुट्पास सहित ८ मिटर चौडा बाटो विस्तारका साथै आस्फाल्ट पिच (कालोपत्रे) गर्ने कार्यको अनुगमन गर्नुभएको छ ।

रु एक करोड ६५ लाख (भ्याट बाहेक)को लागतमा करिव ७ सय २० मिटर लम्बाईमा उक्त सडकको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जसमा सांसद बस्नेतले शुरुवातदेखी हालसम्म कामको गतिविधि, अवस्था तथा निरन्तरताको बारेमा समय समयमा अनुमगन तथा निरिक्षण गर्नुभएको हो । उहाँले आयोजना निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न सुझावहरु दिँदै आयोजनाको स्थायीत्वको बारेमा विशेष जोड दिनुभयो । थप बाकीँ खण्ड संगम चोकदेखि माकलेपाटी हुँदै मोडन डेरीसम्मको भाग कालोपत्रे गर्नका लागि टेण्डर भईसकेकोले तिहार पछाडि तत्कालै काम सुरु हुने समेत सांसद बस्नेतले जानकारी गराउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘भक्तपुरमा कोरोनाले पनि विकास निर्माणको कामलाई नरोकि काम अघि बढेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मजदुरको व्यवस्थापन गरिएको छ । यस्तो मुलुकको विषम् परिस्थितीमा आएको बजेटलाई व्यवस्थित र प्रभावकारी ढंगले प्रयोग तथा सदुपयोग गर्न जनप्रतिनिधि तथा स्थानीयवासीको खबरदारी निरन्तर आवश्यक हुन्छ । त्यसैले मैले दशैंको समयमा पनि अनुगमन तथा उद्घाटनलाई निरन्तरता दिएको छु । राती सुत्दा समेत ओयोजनाको बारेमा नै सम्झिरहन्छु । त्यसलाई कसरी दिगो र उदाहरणीय बनाउने भनेर ।’

सांसद बस्नेतले विजया दशमी जस्तो महान् चाडलाई पनि विकाससँगै जोडेर लैजाने कार्य भएको उल्लेख गर्दै उहाँले सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित श्री शान्ति भैरव मन्दिर जिर्णोद्वार तथा पुनः निर्माणको समेत उद्घाटन गर्नुभयो । मन्दिरको उद्घाटन गर्दै उहाँले उक्त मन्दिरको व्यवस्थापनको लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन समेत गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बजेट आउनु सर्वैसर्व नभई त्यसको उचित प्रयोग तथा निर्धारित समयमा नै कार्य सम्पन्न गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा कुनै पनि आयोजनाको लागि आएका बजेटहरु फिर्ता जाने अवस्था सिर्जना नहुने गरी काम गर्न जनप्रतिनिधि तथा निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो ।

जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल उद्घाटन गर्नुभएको छ । उहाँले भक्तपुरमा शिलान्यास मात्र नभई उद्घाटन समेत व्यापक मात्रामा भइरहेको जानकारी गराउनुभयो ।