समाचार

भक्तपुरमा सङक्रमण र मृत्युदर बढ्दो



भक्तपुर, १५ कार्तिक । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गएको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार पाँच सय नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसैगरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगङ्गा नगरपालिका ४ की २८ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। सुमित्रा गौतमले जानकारी दिइन् ।

कोरोना सङ्क्रमण पुष्टिपछि कात्तिक ३ गते भक्तपुर अस्पताल भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका १ का ७९ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो । स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा। गौतमको भनाइ छ ।

त्यस्तै कात्तिक ४ गते कोरोना सङ्क्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका ३, बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बरभन्दा बढी रहेको उनले बताए । कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०।६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १।२३ प्रतिशत रहेको उनको भनाइ छ ।

त्यसैगरी कोरोना भाइरस सङ्क्रमितको निको हुने दर भने भक्तपुरमा ६७।३३ प्रतिशत छ । बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६१८ महिला गरी तीन हजार ६९९ सङ्क्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए । भक्तपुरमा हाल एक हजार ४७ पुरुष र ७८१ महिला गरी एक हजार ८२८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये २२२ पुरुष १३१ महिला गरी ३५३ अस्पताललगायतको आइसोलेसनमा तथा ९७५ पुरुष र ७७२ महिला गरी एक हजार ७४७ अर्थात ८३।१९ प्रतिशत होम आइसोलेसनमा रहेको उनले बताए । रासस