राजनीति

राष्ट्रपति भण्डारी र उपाध्यक्ष गौतमबीच भेटवार्ता



काठमाडौँ, १९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास भेटवार्ता भएको छ ।

मंगलबार साँझ गौतम शितल निवास पुग्नुभएको थियो । उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाउनु भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताउनुभयो । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नुभएको बताइएको छ ।

‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुपर्‍यो’ राष्ट्रपतिले गौतमलाई गरेको आग्रहबारे सुवेदीले भन्नुभयो । राष्ट्रपति भण्डारीसँग आधा घण्टा भएको सम्बादमा जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताउनुभएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले आफूसँगको भेटलाई लिएर बिगतमा पनि अनावश्यक बिवाद गर्न खोजिएको भन्दै गौतमलाई ‘तपाईको आग्रह इन्कार गर्न सकिन’ भन्दै जानकारी लिने काम गर्नुभएको थियो भने गौतमले पार्टीभित्रको बिवाद मिलाउन आफू सक्रिय हुने बताउनु भएको स्रोतले बतायो ।

‘नेताहरु भेटन आउनु हुन्छ, यस्तै आफूलाई लागेको कुराकानी हुन्छ, बाहिर गएर नचाहिँदो कुराकानी हुने रहेछ, पार्टीभित्रको बिवादमा मलाई खासै चासो हुने कुरा भएन, मिल्नोस भन्ने चाँहि सवै दलका नेताहरुलाई भन्छु, तपाईहरु बिभाजित हुनोस भन्न त सक्दिन नि,’ गौतमसँग राष्ट्रपति भण्डारीको भनाई उधृत गर्दै शीतलनिवास स्रोतले भन्यो ।

भेटमा गौतमले आफूहरु जहिले पनि राष्ट्रपतिमाथि आशंका गर्ने नगरेको भन्दै त्यस्तो चिन्ता नलिन सुझाउनु भएको थियो । उहाँले पहिलेदेखि नै भेट गर्न चाहे पनि कोरोनाको कारण र आइसोलेशनमा बस्नु परेकोले ढिला भएको र अहिले भेटना आउँदा नेकपाभित्र बिवाद भएको भन्दै आफू बिवादमा तान्नका लागि शितलनिवास नआएको प्रष्टिकरण दिनुभएको थियो ।

नेकपाभित्र विवाद चर्किएका बेला उपाध्यक्ष गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी हुनुभएको थियो । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा हुनुहुन्छ । उपाध्यक्ष गौतम जता लाग्यो, उतै बहुमत पुग्छ ।