काठमाडौँ, १९ कार्तिक । कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको पौडेलले बताए ।
त्यस्तै गुल्मीका एकजना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं.६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । प्रवक्ता गौतमका अनुसार उनी उच्च रक्तचापका दीर्घरोगी थिए ।
यता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको आजै बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । ती बालिकामा यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई भोलिपल्टै कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्