काठमाडौँ, २५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु फाल्गुनन्द लिङ्देनको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भनि शुभकामना व्यक्त गर्नुभएको छ ।
फाल्गुनन्दको १३६औं जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
समाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु ।’
वि.सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि.सं. २००५ सालमा भएको थियो । उहाँले जीवनको अन्तिम समयसम्म किरात भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गर्नुभएको थियो ।
किरात धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरीका साथै किरात धर्मावलम्बी रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उनी जन्मिएको पावन दिनका सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।
फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्