काठमाडौँ, २६ कार्तिक । इन्स्पेक्टर हुँ भन्दै धम्क्याएर पैसा लुट्न खोज्ने तीन जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौँबाट मंगलबार पक्राउ गरेको एसएसपी दीपक थापाले बताए । पक्राउ पर्नेमा नुवाकोट घर भई तार्केश्वर नगरपालिका-३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखाका ३३ वर्षीय तुलबहादुर मगर र नवलपरासीका ३६ वर्षीय गुविराम घले छन् ।
एसएसपी थापाका अनुसार रमेश तामाङ सशस्त्र प्रहरीका सिपाही थिए। उनी सशस्त्र प्रहरीका भगौडा हुन् । उनीहरूले एक व्यक्तिलाई पाँच लाख रुपैयाँ लुटेको भन्ने आरोप लगाएर बन्धक बनाएका थिए ।
बन्धक बनाएर ती पीडितसँग सो रकम मागेका थिए। तर पीडितले दिन सकेनन् । आफूसँग पैसा नभएपछि ती पीडितले आफ्नो मामा ठेक्कापट्टा काम गर्ने भन्दै उनलाई सम्पर्क गर्न लगाए । ‘मामा चाहिँलाई तुलबहादुर मगरले आफू प्रहरीको इन्स्पेक्टर बनेर फोन गरेछन्। पैसा लिएर आउनू भनेर भनेछन्,’एसएसपी थापाले भने ।
पछि मामाले आफ्नो भाञ्जालाई प्रहरीले नियन्त्रणमा लिएकोबारे महाशाखालाई खबर गरेका थिए । ‘हामीसँग मामाले ‘पुलिसले भाञ्जालाई समातेको छ’ भनेर बुझे । लगत्तै प्रहरी परिचालन गर्दा नक्कली प्रहरी पो परेछन्,’उनले भने । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, बालाजुमा बुझाएको छ ।










प्रतिक्रिया दिनुहोस्