विश्व

बेलायतमा एक दिनमै ३३ हजार बढीमा कोरोना पुष्टि



एजेन्सी, २८ कार्तिक । बेलायतमा पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जना नयाँ कोरोना संक्रमित थपिएका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

बुधबार संक्रमित संख्या २२ हजार ९५० रहेकोमा आज करिब दश हजार बढी अर्थात ४५.८ प्रतिशत संक्रमित थपिएर संक्रमित संख्या एकैदिनमा ३३ हजार नाघेको हो । यो संख्या बेलायतमा महामारीपछिकै सबैभन्दा उच्च भएको स्वास्थ्य विभागले जनाएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ९० हजार १९५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ५६३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार ९२८ पुगेको छ । हिजो बुधबार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको थियो । कोरोनाका कारण ५० हजार भन्दा बढी मृत्यु हुने युरिपियाँ मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वभर सबै भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा रहेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ६६८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २६८ जनाको भेन्टिलेतर बेडमा उपचार भैरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ३० जनाको हस्पिटलमा उपचार भैरहेको छ ।