राजनीति

काठमाडौँ प्रशासनको बन्द सेवा खुल्दै: निश्चित बार तोकेरै सेवा दिइने



काठमाडौँ, २९ कार्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ ।

काठमाडौँ प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यकबाहेकका कतिपय सेवा स्थगित गर्दै आएको छ ।

प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हतियार दर्ता तथा नवीकरण जस्ता सेवा ३ मंसिरबाट खुला गर्ने जानकारी गरएको हो ।

सो मितिबाट समेत सेवाप्रवाह गरिँदा स्थानीय तहअनुसार निश्चित बार तोकेरै सेवा दिइनेछ । जसअनुसार आइतबार काठमाडौँ महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका सेवाग्राहीले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।

यसैगरी मंगलबार काठमाडौँ महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मका सेवा ग्राहीलाई सेवा दिइनेछ । यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ वडा सम्मका र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।

यसैगरी, पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बारअनुसार वर्गीकरण गरिएको छ । जसअनुसार संघसंस्था दर्ता सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछन् । प्रतिलिपि पत्राचार सेवा प्रत्येक दिनको ४ बजेपछि दिइनेछ ।

यस्तै, शान्ति सुरक्षाको निवेदन र कानुनबमोजिम हुने मुद्दासम्बन्धी काम, आयोजनासँग सम्बन्धित समन्वय र छलफल तथा विपद् व्यवस्थापनसम्बन्धी काम भने हरेक दिन हुनेछ । यो समाचार राजधानी दैनिकमा छ ।