काठमाडौँ, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठकमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताउनुभएको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा वसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकलैटी रुपमा प्रस्ताव तथा प्रतिवेदन तयार पारी सचिवालय सदस्यहरुलाई वितरण गर्नुभएको थियो । जसमा आफ्नो कर्तुत लुकाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई अनावश्यक आरोप लगाइएको उहाँले उल्लेख गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले वाँडेको लाञ्छनिय पत्रको बारेमा पार्टीका कुनै पनि तहमा छलफल हुन नसक्ने उल्लेख गर्दै सल्लाहकार थापाले उक्त प्रस्ताव पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।
यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्