Banner News

सांसद बस्नेतद्वारा डा. प्रा. दीपकप्रसाद भट्टराईको शालिक अनावरण तथा पुस्तक विमोचन



भक्तपुर, ३० कार्तिक । नेपालीहरुको महान चाड दिपावली, नेपाल सम्वत् तथा छठको रैनक चलिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत भने विभिन्न सामाजिक तथा विकासका कार्यक्रमहरुलाई निरन्तरता दिइरहनुभएको छ ।

दिपावलीको अवसरमा आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी तिहार पर्व मनाइँदैछ । नेपालीहरुमा चाडपर्वको उल्लास छाइरहेको समयमा सांसद बस्नेत भने विकास र समृद्धिको यात्राका साथै सामाजिक कार्यमा दौडिरहुनभएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तथा स्वास्थ्य मापदण्ड पालना गर्दै गरिएको एक समारोहका बिच मनाइरहेको समयमा सांसद बस्नेतले चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष स्व. डा. प्रा. दीपक प्रसाद भट्टराईको शालिक अनावरण तथा उहाँद्वारा लिखित नेपाल इन्जिनियरिङ कलेको स्थापना, विकास र सम्भावना नामक पुस्तकको विमोचन गर्नुभयो ।

भक्तपुरमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना गरी अध्ययनको लागि विदेश जानुपर्ने बाध्यताको केही हदसम्म कम गराउन सफल हुनुभएका डा. भट्टराईको प्रथम वार्षिक पुण्य तिथी तथा शालिक अनावरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकृती र विसंगतिको विरुद्धमा डा. भट्टराईले आफ्नो जीवनको अन्तिम समयसम्म संघर्ष गरिरहनुभएको प्रसंग उल्लेख गर्नुभयो । कलेजलाई कतिपय व्यक्तिगत फाईदा लिन खोज्नेले हस्तक्षेत्र गर्न खोजेको भन्दै गुनासो समेत गर्नुभयो ।

डा. भट्टराईले पुस्तकको माध्यमबाट उठाउनुभएको चिकित्सा क्षेत्रमा सन् २०५४ सम्ममा निक्कै ठूलो सफलता हासिल गर्न सक्ने, क्यान्सर जस्ता प्राणघातक रोगहरु टिका लगाईदिएको भरमा परास्त गर्नेछन्, मानिसको मृत्यु इच्छा अनुसार हुनेछ जस्तो कुराहरुको लागि ठूलो मात्रामा पैसाको आवश्यकता पर्ने भएकाले ‘पैसा जोहो गर्ने अभियानका लाग्ने हो की आफ्नो मृत्यु पश्चात पनि मानिसले सम्झने काममा लाग्ने हो ?’ भनि गहन प्रश्न गर्नुभएको कुरा उल्लेख गर्दै सांसद बस्नेतले ‘म पैसा कमाउने हैन, बनाउने हो’ भन्नेले कलेजलाई ध्वस्त पार्ने प्रयास गरेको गरेको र उक्त कलेजलाई बचाउनु पर्यो भनि पुस्तकमा सन्देश प्रवाह गरिएको जानकारी गराउनुभयो ।

समाजको हित र उन्नतीको निम्ती जीवनको अन्तिम क्षणसम्म लड्ने र जुध्ने प्रेरणाका साथ अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो । राजनीति गर्ने तथा सामाजिक क्षेत्रमा काम गर्ने जो कोहीले आफ्नो व्यक्ति, परिवारभन्दा माथि उठि देश र जनताको लागि अगाडी बढ्नुपर्ने उल्लेख गर्दै उहाँले कलेजलाई प्राइभेट कम्पनी हुनबाट जोगाउने डा. भट्टराईको संकल्पलाई हालका जनप्रतिनिधिले पुरा गरेको दावी गर्नुभयो ।

प्रा. डा. भट्टर्राइले लेख्नुभएको पुस्तकमा राष्ट्रको सम्पत्तीलाई आफ्नो नीजि सम्पत्तीको रुपमा लिनु नपरोस् भन्ने सन्देशका अनुसार नै अभियान चलाएको तथा संघर्ष गरेको स्मरण गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सरकार तथा संघिय संसदको समितिले समेत कुरा सुनेको बताउनुभयो । डा. भट्टराईको सन्देश अनुसार नै हाल उक्त कलेज नगरपालिकाको मातहतमा सञ्चालनमा रहेको जानकारी गराउँदै आगामी दिनमा पनि कलेजको प्रगतिको लागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राज्यको सम्पत्ती आफ्नो व्यक्तिगत सम्पत्तीको रुपमा एक रुपैंया पनि नआओस् भन्ने सामाजिक क्षेत्रमा काम गर्ने तथा जनप्रतिनिधिले बुझ्न जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘डा. भट्टराईको श्रीमतीले आफ्नो छोरीलाई समेत उक्त कलेजमा महिनावारी फि तिरेर नै पढाइरहनुभएको एक दमै मार्मिक कुरा सुनाउनुभयो । त्यसबाट तपाई हामी धेरैले सिक्न जरुरी छ कि राज्यको एक रुपैंया सम्पत्ती पनि व्यक्तिकोमा नआओस् । त्यसमा पनि सामाजिक क्षेत्रमा काम गर्ने तथा राजनीति गर्नेले त झनैं सिक्न जरुरी छ ।’

चाँगुनारायण नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सोम मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख नवराज गेलाल, सहरी विकास विभागका महानिर्देशक मणीराम गेलाल, पोखरा विश्वविद्यालयका परिक्षक डा. टेकराज ज्ञवाली, स्थानीय जनप्रतिनिधिलगायतका उपस्थिती रहेको थियो ।