राजनीति

प्रधानमन्त्री ओलीद्वारा खड्काको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, २ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीद्वारा गुल्मीका बोमबहानदुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले स्व. खड्का वर्तमान पुस्ताले मात्र नभई भावि पुस्ताको समेत प्रेरणाको स्रोत हुने उल्लेख गर्दै खड्काको योगदानको बारेमा चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उहाँको निधन भएको हो । नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुनुहुन्छ । विसं २०२३ असारमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा जन्मिनुभएका खड्का सानैदेखि राजनीतिमा चासो राख्ने व्यक्ति हुनुहुन्थ्यो ।

उहाँले विसं २०४१ भन्दा अगाडि नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको सङ्गठनमा आबद्ध भई सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँ विसं २०४१ मा नेकपा (माले)को जिल्ला कमिटी सदस्य र विसं २०४९ मा मालेकै जिल्ला कमिटी उपसचिव हुनुभयो । त्यसपछि नेकपा एमाले भइसकेपछि सङ्गठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष हुनुभयो । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं २ का इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।