विश्व

बाइडेनलाई कार्यभार सुम्पिने प्रक्रिया अघि बढाउन तयार भए ट्रम्प



एजेन्सी, १० मंसिर । २०२० को अमेरिकी निर्वाचनमा विजयी भएका डेमोक्रेट पार्टीका उमेदवार जो बाइडेनलाई कार्यभार सुम्पिने तयारी सुरु गर्नुपर्ने कुरालाई ट्रम्पले स्वीकार गरेका दिएका छन् ।

आफ्नो हार विरुद्ध लडाईँ जारी राख्ने वचन दिइरहेपनि ट्रम्पले यस विषयमा आवश्यक सबै प्रक्रिया जारी रहनुपर्ने बताएका हुन् । यसअघि ‘जेनेरल सर्भिसेस’ विभाग, जीएसएले पनि बाइडेन नै विजयी भएको स्वीकार गरेको थियो । मिचिगन स्टेटले उनको जितलाई आधिकारिक मान्यता दिएपछि ट्रम्पलाई सो खबरले ठूलो झट्का दिएको हो । यसरी जीएसएको घोषणापछि, राष्ट्रपति निर्वाचित भएका बाइडेनले अब सरकारी कार्यालयका सबै उच्च स्तरीय आन्तरिक बैठकहरुको पहुँच पाउने भएका छन् ।

यससँगै बाइडेनले आफ्नो प्रशानमा विभिन्न शिर्ष पदका लागि नियुक्ति पनि सुरु गरिसकेका छन् । यस विषयमा ट्रम्प प्रशासनले सहकार्य जनाउने खबरलाई बाइडेनको टोलीले अहिलेको चुनौतिपूर्ण समयमा यो निर्णय अतिआवश्यक भएको बताएको हो । उनले आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

यसअघि बाइडेनले विदेश नीति र राष्ट्रिय सुरक्षा टोलीका लागि ओबामा प्रशासनमा आफूसँग काम गरेका सहकर्मीहरुलाई चयन गर्न लागेको खबर बाहिरिएको थियो । मंगलबार मात्र उनले सबै मनोनित नियुक्तहरुबारे आधिकारिक घोषणा गर्नेछन् ।

ट्रम्पले ट्वीटर मार्फत आफ्नो प्रशासनलाई आगामी कार्यकाल स्थानान्तरणको तयारीमा सहकार्य गर्न बताए पनि चुनाव सम्बन्धी आधारहीन दाबी गर्न भने छाडेका छैनन् । उनले निर्वाचनमा धाँधली भएको र आफूले यस विरुद्ध बलियो लडाईँ लड्ने कुरा फेरि पनि दोहोर्याएका हुन् । तर उनले यस कानुनी लडाईँमा कतै सफलता हासिल गरेका छैनन् । बरु उल्टै रिपब्लिकन सिनेटरहरुबाट बढ्दो असमर्थन प्राप्त गरिरहेका छन् । बीबीसी